इरान विमान दुर्घटना : युक्रेनी विमानमा क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटियो !

इरान विमान दुर्घटना : युक्रेनी विमानमा क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटियो !


एजेन्सी – क्यानडा र युकेका नेताहरुले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन् । विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको भन्दै उनीहरुले छानविनको माग गरेका छन् । बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै दुर्घटनामा पर्दा युक्रेनको बोइङ ७३७ विमानमा रहेका एक सय ७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनी विमान बोइङ ७३७ मा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्यहरु थिए । दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो । घटनामा ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्यु भएको थियो । तर इरानले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै त्यस्तो दाबीको खण्डन गरेको छ ।

इरानी सरकारका एक प्रवक्ताले पश्चिमा देशले लगाएको आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन । विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले अनुमान लगाएका छन् ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार एउटा भूउपग्रहले दुईवटा क्षेप्यास्त्र प्रहारको र एउटा विस्फोटको इन्फ्रारेड तरङ्ग ‘ब्लिप’ देखिएको पत्ता लगाएको छ । यसैबीच न्यूजवीकले पेन्टागन र एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी तथा एक इराकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै युक्रेन इन्टर्न्याशनल एअरलाइन्सको उक्त विमानमा रुसमा निर्मित टोर क्षेप्यास्त्र प्रहार गरिएको हुन सक्ने विवरण प्रकाशित गरेको छ ।

न्यूयोर्क टाइम्सले प्राप्त गरेको भिडिओमा तेहरानमाथि राति आकाशमा क्षेप्यास्त्रको उज्यालो अघि बढ्दै गरेको र विमानसँग ठोक्किएर विस्फोट भएको जस्तो देख्न सकिन्छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको छ । हामीले क्यानडाका सहयोगी साथै हाम्रै उच्च श्रोतहरुबाट यो जानकारी पाएका छौं कि ६३ क्यानडेली नागरिकको मृत्यु हुनेगरी भएको युक्रेनियन विमान दुर्घनाको कारण इरानी क्षेप्यास्त्र हो । क्यानडासँग प्रश्न छ र हामी उत्तर चाहन्छौं ।’ सो दुर्घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग ट्रुडोले गरेका छन् ।

इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटनामा परेको थियो । इरानले पनि विमानको ब्ल्याक बक्स अमेरिकालाई नदिने बताएपछि शंका उब्जिएको थियो । अहिले भने इरान ब्ल्याक बक्स अध्ययन गर्न अमेरिकालाई दिन राजी भएको छ । अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरेर हत्या गरेपछि इरानले अमेरिकासँग बदला लिन बुधबार इराकस्थित अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल आक्रमण गरेको थियो ।