ईरानमा आज राष्ट्रपतीय निर्वाचन हुँदै

ईरानमा आज राष्ट्रपतीय निर्वाचन हुँदै


काठमाण्डु-ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो ।

समाचार संस्था एपीका अनुसार राष्ट्रपति निर्वाचनका लागि चारजना चुनावी मैदानमा छन् । सईद जलीली, ईरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालीबाफ, मुस्तफा पोरमोहम्मदी र मसूद पेजेशकियानले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् ।

ईरानी राजनीतिक विश्लेषकहरूका अनुसार कट्टरपन्थी एवं पूर्व परमाणु वार्ताकार जलीली र वर्तमान संसदका अध्यक्ष गालीबाफ एकै गुटका लागि चुनाव लड्दै छन् भने पेजेशकियान मुटुको शल्यक्रिया गर्ने चिकित्सक हुन् । उनले आफूलाई रुहानी एवं पूर्व राष्ट्रपति मोहम्मद खातमी जस्ता सुधारवादी र २००९ को ग्रीन मुभमेन्ट विरोधको नेतृत्व गर्नेसँग आफूलाई जोडेका छन् । जबकी मसूद पेजेशकियान तबरेजबाट सांसद छन् । उनी उदारवादी विचारधारा भएका व्यक्तिको रुपमा चिनिन्छन् ।

यीमध्ये संसदका अध्यक्ष गालीबाफको राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो देखिन्छ । गालीबाफ २०१७ र २०२१ मा रईसीका कारण राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए ।

२०१७ मा रईसीलाई हसन रुहानीले पराजित गरिदिएका थिए भने २०२१ मा रईसीलाई सर्वोच्च नेता खामनेईले समर्थन गर्दै राष्ट्रपतिमा निर्वाचित गराएका थिए । त्यसकारण २०२१ मा गालीबाफ राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए । तर, २०२५ मा हुने राष्ट्रपति निर्वाचनमा उनी रईसीविरुद्ध निर्वाचन लड्ने निश्चित थियो । तर, रईसीको मृत्यु पछि हुन लागेको राष्ट्रपति निर्वाचनमा गालीबाफ बलियो दाबेदारको रुपमा देखिएका छन् ।

ईरानको नियम अनुसार उम्मेदवारहरूको आवेदन पहिला गार्जियन काउन्सिलले अध्ययन गर्छ । काउन्सिलले अनुमति दिएपछि मात्रै ती उम्मेदवार चुनाव लड्न पाउँछन् ।

यता, ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामनेईको नेतृत्त्वमा ईरानको धर्मतन्त्रले महिला वा देशको सरकारमा ठूलो परिवर्तनको आग्रह गर्ने कुनैपनि व्यक्तिलाई मतदानका लागि अनुमति नदिने भएको छ ।