सैन्य शक्तिमा इजरायल बलियो कि इरान ?

सैन्य शक्तिमा इजरायल बलियो कि इरान ?


काठमाण्डु – इरानले इजरायलमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देश युद्धतर्फ उन्मुख भएका छन् । अहिलेसम्म इजरायल र इरानबीच औपचारिक युद्ध भएको छैन तर उनीहरू अनौपचारिक द्वन्द्वमा संलग्न छन् । इरानसहित अन्य देशमा महत्वपूर्ण इरानी व्यक्तिहरूको मृत्यु हुने गरी आक्रमण हुँदा त्यस्ता घटना इजरायलले गराएको ठानिन्छ । इरानले भने इजरायललाई ‘प्रोक्सी’ अर्थात् अरू कुनै पक्षमार्फत् आक्रमण गर्छ ।

इरानले प्रहार गरेका अधिकांश क्षेप्यास्त्रलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको इजरायली सेनाको दाबी छ । क्षेप्यास्त्र प्रहारबाट केही सैन्य अखडा तथा रेस्टुराँ र विद्यालयमा क्षति पुगेको इजरायली सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेकोले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिइसकेका छन् भने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानको शान्ति र सुरक्षाको उद्देश्यले हमला गरिएको प्रतिक्रिया दिएका छन् ।

नेतन्याहूलाई सम्बोधन गर्दै उनले इरान जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताएका छन् ।

कसको सैन्य शक्ति कति ?

गत अप्रिल १३ मा इरानले पहिलो पटक सोझै आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किने डर फेरि बढेको छ । आक्रमणका कारण इजरायलमा खासै क्षति नपुगे पनि इरानले ३०० वटा भन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इरानसँग सम्बन्ध भएका समूहहरूले इजरायलमाथि आक्रमण गर्दै आएका थिए भने इरानसँग सम्बन्ध भएका स्थानहरूमा भएका हमलाहरू इजरायलले गराएको मानिँदै आएको थियो ।

इजरायल अहिले गाजा युद्धमा छ भने लेबनानको सीमाभित्र रहेको हिज्बुल्लाह समूहसँग पनि लडाइँ गर्दैछ । त्यसैले तनाव चुलिँदा खतरा बढ्न सक्छ । इन्टरनेशनल इन्स्टिट्यूट फर स्ट्रटिजिक स्टडीज (आईआईएसएस)ले दुवै देशका सेनाको गोलाबारी गर्न सक्ने क्षमताको तुलना गरेको छ ।

स्टक्होम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूटजस्ता अरू संस्थाहरूले पनि त्यसबारे आकलन गरेका छन् । तर तथ्यांक सार्वजनिक नगर्ने देशहरूसँग सम्बन्धित अनुमानित संख्या भिन्न हुन सक्छ ।

यद्यपि पीस रिसर्च इन्स्टिट्यूट ओस्लो (पीआरआईओ) का निकोलस मार्शका अनुसार विश्वभरि कुनै देशको सैन्य शक्तिको मूल्यांकन गर्न आईआईएसएसलाई अग्रणी मानिन्छ ।

आईआईएसएसका अनुसार इजरायलले रक्षा क्षेत्रमा इरानले भन्दा बढी खर्च गर्छ । त्यसो हुँदा सम्भावित द्वन्द्वमा उसलाई ठूलो शक्ति मिल्छ । आईआईएसएसका अनुसार सन् २०२२ र २०२३ मा इरानको प्रतिरक्षा बजेट ७.४ अर्ब डलर थियो भने इजरायलको त्यसको दोबरभन्दा बढी अर्थात् १९ अर्ब डलर थियो ।

इजरायलको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादनसँगको तुलनामा उसको रक्षा खर्च पनि इरानको भन्दा दोबर छ ।

प्रविधिमा को अगाडि ?

आईआईएसएसको विश्लेषण अनुसार इजरायलसँग लडाइँमा पठाउन ३४० वटा सैन्य विमान छन् । यसबाट उसको निसाना बनाएर हवाई आक्रमण गर्ने क्षमता देखिन्छ । यस्तै लामो दूरीमा आक्रमण गर्न सक्ने एफ–१५ जेट विमानहरू, रेडार छल्न सक्ने एफ–३५ जेट विमानहरू र चाँडो आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन् ।

आईआईएसएसका अनुसार इरानसँग छ लाख र इजरायलसँग एक लाख ७० हजार सैनिक छन् ।

‘आइरन डोम’ र ‘एरो’ इजरायली प्रतिरक्षा प्रणालीका मेरुदण्ड हुन् । उसले आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रयोग गरेर इरानबाट प्रहार गरिएका अधिकांश ड्रोन र क्षेप्यास्त्र आकाशमै नष्ट पारिएको दाबी गर्छ ।

इजरायलको ठूलो सामर्थ्य भनेको उसको हवाइ शक्ति र नियन्त्रित अस्त्रहरू हुन् । त्यसैले उसले इरानका मुख्य निसानामा हवाइ हमला गर्ने सम्भावना रहन्छ ।
इजरायलसँग ६० वटा नौ सैनिक पानीजहाज र जलसेनासँग ६० वटा पानीजहाज छन् ।

उता इरानसँग लडाइँमा प्रयोग गर्न सकिने ३२ वटा विमान छन् । इरानसँग भएका जेटहरू सन् १९६० को दशकदेखिका हुन् ।

तर ती पुराना विमानमध्ये कति वटा प्रयोग हुन सक्ने अवस्थामा छन् भन्ने स्पष्ट छैन । किनभने तिनको मर्मत गर्न पार्टपुर्जा पाउन निकै कठिन छ । यूएस नेभीले झन्डै २० वर्षअघि एफ–१४ टमक्याट प्रयोग गर्न छोडेको भए पनि इरानमा अझै प्रयोगमा छन् । इरानको क्षेप्यास्त्र कार्यक्रमलाई पूरा मध्यपूर्वमा सबैभन्दा ठूलो र विविधतायुक्त मानिन्छ ।

सन् २०२२ मा यूएस सेन्ट्रल कम्यान्डका जेनरल केनथ मक्कन्जीले इरानसँग ३,००० वटाभन्दा बढी बलिस्टिक क्षेप्यास्त्र भएको बताएका थिए । इरानले सन् १९८० देखि १९८८ सम्म इराकसँग लडाइँ गरेको थियो । त्यस बेलादेखि नै उसले आफ्ना क्षेप्यास्त्र प्रणाली र ड्रोनमा सुधार गर्न निकै मेहनत गरेको छ । इरानले छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने क्षेप्यास्त्र र ड्रोन बनाएको छ । तीमध्ये केही भर्खरै इजरालमा आक्रमण गरेको छ ।

इरानको जलसेनासँग पुरानो हुँदै गएको २२० वटा पानीजहाज छन् । त्यसको तुलनामा इजरायलसँग ६० वटा मात्र रहेको आईआईएसएसको विवरणमा देखिन्छ ।
इरानको प्रतिरक्षा प्रणाली प्राविधिक रूपमा इजरायलको भन्दा कमजोर छ । त्यसैले इजरायली सेनामाथि हुने विद्युतीय हमलाले धेरै नै हानि पुर्‍याउन सक्छ ।

इजरायलसँग परमाणुअस्त्र भएको ठानिन्छ । तर उसले त्यसबारे सुनियोजित रूपमा अस्पष्टता राखेको छ । इरानसँग परमाणुअस्त्र भएको ठानिँदैन ।

भूगोल र जनसंख्या

इजरायल इरानभन्दा २,१०० किमि टाढा छ । इरान इजरायलभन्दा निकै ठूलो देश हो । इरानको जनसंख्या झन्डै आठ करोड ९० लाख छ भने इजरायलको एक करोडजति छ ।

इरानसँग इजरायलमा सेवामा भएका सैनिकको संख्याभन्दा झन्डै छगुना बढी सैनिक छन् । इजायलले इरानमाथि आक्रमण गर्दा सिरिया, जोर्डन र इराकजस्ता अन्य सार्वभौम देशहरूको हवाई क्षेत्र उल्लंघन समेत गर्नुपर्ने हुन्छ । यद्यपि इजरायलले इरानभित्रबाटै गोप्य रूपमा कार्य गर्न सक्ने सेवा विकास गरेको छ ।
इरानसमर्थित समूहहरूसँग इराक र सिरियामा समेत उल्लेख्य शक्ति रहेको पाइन्छ ।

इरानले सिरियाली सरकारलाई साथ दिन्छ र सिरियाली भूमिबाट समेत इजरायलमा हमला गर्ने गरेको बताइन्छ ।

किन सुरु भयो युद्ध ?

हिज्बुल्लाहका महासचिव हसन नस्रल्लाह लेबनानको राजधानी बेइरुतको दक्षिणी भेगमा रहेको एक नगरको मुटुमा इजरायली हमलामा मारिए । इजरायलद्वारा मारिने डरले वर्षौँदेखि सार्वजनिक रूपमा नदेखिएका नस्रल्लाह मध्यपूर्वका सर्वाधिक चर्चित र प्रभावशाली व्यक्तिमध्येका थिए ।

उनको मृत्युलाई इजरायलको जितका रूपमा हेरिएको छ तर बेइरुतमा उनका केही समर्थकहरूले भने आफूहरू स्तब्ध भएको बताएका छन् ।

फाट्टफुट्ट रूपमा हुँदै आएको हिज्बुल्लाह र इजरायलबीचको लडाईँ ८ अक्टोबर २०२३ मा हिज्बुल्लाहले इजरायलतर्फ गोलाबारी गरेपछि चर्किएको हो । गाजामा हमासका बन्दुकधारीहरूले अभूतपूर्व आक्रमण गरेलगत्तै हिज्बुल्लाहले पनि इजरायलमाथि आक्रमण गरेको थियो । अमेरिका र बेलायसहितका केही पश्चिमा देशका साथै केही अरब देशहरूले समेत इरानद्वारा समर्थित र आर्थिक सहयोग दिइँदै आएको हिज्बुल्लाहलाई आतंकवादी संगठनका रूपमा वर्गीकृत गरेका छन् । नस्रल्लाहको निधनले हिज्बुल्लाहको भविष्यको दिशा के हुन्छ भन्नेबारे गम्भीर प्रश्न खडा गरेको छ । त्यस्तै इजरायलविरुद्धको सशस्त्र अभियानलाई जारी राख्न सक्ने हिज्बुल्लाहको क्षमतामा शंका पैदा भएको छ ।

हिज्बुल्लाहका सहसंस्थापक मुसावी सन् १९९२ मा इजरायलद्वारा मारिएका थिए । उनका उत्तराधिकारी नस्रल्लाहलाई सफलतासाथ सिध्याएपछि इजरायली सेनाले आफूसँग अन्य उपायहरू पनि उपलब्ध रहेको बताएको छ ।

इरानले बेइरुतको शुक्रबारको आक्रमणमा आफ्नो रेभलूशनरी गार्ड्स कोरका एक जना वरिष्ठ कमान्डर पनि मारिएको जनाएको छ । इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खमेनेईले हिज्बुल्लाहप्रतिको समर्थनलाई दोहोर्‍याए पनि हसन नस्रल्लाहको मृत्युबारे इरानको सम्भावित प्रतिक्रियाबारे केही बताएनन् ।

आफ्नो पहिलो टिप्पणीमा उनले लेबननमा नागरिकहरूको हत्या भइरहेकोमा कडा शब्दमा निन्दा गरेका छन् । उनले यसलाई इजरेली नेताहरूको ‘अल्पदृष्टि र मुर्खता’को प्रमाणका रूपमा व्याख्या गरेका छन् । हिज्बुल्लाहका प्रमुख हसन नस्रल्लाहको शोकमा इरानमा समेत प्रदर्शन भएको छ । बेइरुतका सडकमा उक्त घटनाका परकम्पहरू प्रतिबिम्बित भएको देखिन्छ ।

केही समर्थक आफ्नो रोष र आघात प्रदर्शन गर्न सडकमा आएका छन् भने भने केहीले सामाजिक सञ्जालमा आफ्नो दुःख बिसाएका छन् । शिया नेताको मृत्युपश्चात् हिज्बुल्लाहको टेलिभिजन च्यानल अल–मनारले स्क्रीनमा कुरानका आयात (श्लोक) हरू देखाइरहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित धेरै मानिसहरू घरबारविहीन अवस्थामा सडकमै बसेका छन् भने इजरेली आक्रमणको परिणामस्वरूप एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । नस्रल्लाह ठूलो संख्याका समर्थकहरूका निम्ति शीर्ष नेतामात्रै थिएनन्, आदर्श पनि थिए ।