काठमाण्डु-लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
‘चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको छ,’ राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
करिब ६० किलोग्राम (१३२ पाउण्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका लागि हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको समाचारमा जनाइएको छ ।
रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन बनाई र निर्माण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।
संयुक्त राज्य अमेरिकालगायत पश्चिमा सरकारहरूले इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् र यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् ।
इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।
इरानको रिभोल्युसनरी गार्ड कोप्रसको अन्तरीक्ष हेर्ने सङ्गठनले गाएम–१०० रकेटको निर्माण गरेको हो ।
यो क्यारियर देशको पहिलो र तीन तहको ठोस–ईन्धन उपग्रह प्रक्षेपक हो । इरानी सरकारी सञ्चारमाध्यमले जनवरीमा ५०० किलोमिटर भन्दा माथिको कक्षमा पहिलो पटक उपग्रह पठाउनको लागि यसको प्रयोग गरेको जनाएका छन् ।
इरानले वर्षौंदेखि आफ्नो अन्त्रिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ ।
गत फेब्रुअरीमा रूसले इरानी रिमोट सेन्सिङ र इमेजिङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको थियो ।
त्यतिबेला इरानका सञ्चारमन्त्रीले विगत दुई वर्षमा इरानले एक दर्जन स्याटेलाइट प्रक्षेपण गरिसकेको बताएका थिए ।
गार्ड्सले एउटा अनुसन्धान उपग्रह प्रक्षेपण गरेको करिब एक हप्तापछि जनवरीमा इरानले एकैपटक तीन वटा उपग्रहलाई कक्षमा पठाएको बताएको थियो ।
इस्लामिक गणतन्त्र इरानले विगतमा धेरै उपग्रह प्रक्षेपण विफलताहरूको सामना गर्नुपरेको छ ।
सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक आणविक सम्झौतालाई एकतर्फी रूपमा त्यागेपछि इरानले वर्षौंदेखि पश्चिमा प्रतिबन्धहरूको सामना गर्दै आएको छ ।
युक्रेनमा प्रयोगका लागि रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरेको आरोपमा इरानले बिहीबार युरोपका चार राजदूतसँग स्पष्टीकरण मागेको छ ।
प्रतिक्रिया