काठमाण्डु-इराकमा पहिलोपटक जनगणना हुन लागेको छ । २७ वर्षको इतिहासमा मुलुकमा पहिलोपटक जनगणना हुन लागेको हो । आगामी नोभेम्बरमा हुने जनगणनाको क्रममा दुई दिनको कर्फ्यू लगाइने छ ।
‘जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ’, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भनेका छन् ।
दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेषगरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।
पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् २००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो ।
छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख रहेको छ ।
अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) सँग साझेदारी गरेका छन् ।
विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गथ्र्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन । रासस
प्रतिक्रिया