प्रदूषण बढेपछि तेहरानका विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

प्रदूषण बढेपछि तेहरानका विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन


तेहरान– इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ ।

अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७० पुगेको बताएका छन् ।

राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै सङ्ग्रहालय र बैङ्कहरू बन्द गरिएको थियो। इरानको ४३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो ।

प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरहरूमा पनि प्रभाव पारिरहेको छ ।

दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ ।स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारी साधनको र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको बताएका छन् ।

हालैका हप्ताहरूमा, सरकारले केही पावर प्लान्टहरूमा प्रयोग हुने ईन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ । इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ । रासस