काठमाडौं – नेपाली सेनाका उपरथी ईश्वर हमाललाई मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी दिइएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई उक्त मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नियुक्त गरेको हो ।
हाल आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत रहेका हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् । राष्ट्रसंघको मुख्यालयले उनको नियुक्तिका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने सैनिक मुख्यालय स्रोतले जानकारी दियो।
सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् ।
गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।
उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया