मोदीको मुक्तिनाथ भ्रमण : सुरक्षा तयारी बुझ्न रक्षामन्त्री मुस्ताङमा

मोदीको मुक्तिनाथ भ्रमण : सुरक्षा तयारी बुझ्न रक्षामन्त्री मुस्ताङमा


मुस्ताङ- रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् । रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा दिइने सुरक्षा प्रबन्धबारे छलफल गरेका हुन् ।

त्यसक्रममा मन्त्री पोखरेलले मुस्ताङको जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयको निरीक्षण पनि गरे । नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेलले शिक्षालयको अवलोकनपछि एमालेका कार्यकर्ताहरुसँग भेटघाट पनि गरेका थिए ।

त्यसक्रममा उनले कोरला नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए । सरकारले चीनसँगको कोरला नाकालाई उच्च प्राथमिकता दिएको भन्दै मन्त्री पोखरेलले सडक विस्तारपछि मुस्ताङ दुर्गम नहुने बताए । मन्त्री पोखरेल आइतबारै लमजुङको घलेगाउँ जाने कार्यक्रम पनि रहेको जनाइएको छ ।