काठमाण्डु- इजरायलीले गाजा पट्टीमा ४८ घण्टासम्म लगातार आक्रमणमा गरेको छ । आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ । त्यस्तै २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइनट्ठइजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ । घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।
आक्रमणमा परेर धेरै प्यालेस्टिनीहरू भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन्।
जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मंगलबार गाजामा पुनः आक्रमण सुरु गरेको हो।
यस्तै, इजरायलले दक्षिणी लेबनानमा पनि हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।
युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।
बीबीसीका अनुसार इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको छ । टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।
यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलको मेटुला शहरतर्फ रकेट आक्रमण भएको र त्यसलाई आकासमै नष्ट गरेको जनाएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार यो आक्रमणमा इजरायलतर्फ कुनै पनि हताहत भएको छैन ।
प्रतिक्रिया