काठमाण्डु-गाजाको दराज जिल्लामा रहेको एउटा विद्यालयमा आज भएको आक्रमणमा सयभन्दा बढीको मृत्यु भएको छ । अल जजिराको रिपोर्टका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्धवृद्धा रहेका छन् ।
यस विद्यालयमा धेरैले आश्रय लिएका थिए । बिहानको नमाज पढिरहेको समयमा आक्रमण भएको हो । स्थानीयवासीका अनुसार विद्यालयमा एकपछि अर्को ३ रकेट प्रहार भएको थियो । त्यसपछि विद्यालयमा आगलागी भएको थियो ।
इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ । अल–ताबीन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भइरहेको उनीहरुको दाबी छ । त्यहाँ धेरै हमास आतंकवादीहरू उपस्थित थिए । सेनाले आफूले सर्वसाधारणमाथि आक्रमण नगरेको दाबी गरेको छ ।
आइडीएफले आक्रमण गर्नुभन्दा पहिले नागरिकको क्षति कम गर्न धेरै काम गरेको बतायो । यसका लागि उक्त क्षेत्रको हवाई अनुगमन गरिएको र त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको सेनाले बताएका छन् ।
हमासका प्रवक्ता महमूद बसालले समाचार एजेन्सी एएफपीलाई आक्रमणमा करिब १०० जनाको मृत्यु भएको जनाएका छन् । यससँगै दर्जनौं घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू विद्यालयमा बस्दै आएका थिए । उनले यो आक्रमणलाई ‘भयानक’ भनेका छन् । आगो निभाउने, शव निकाल्ने र घाइतेलाई बचाउने काममा कर्मचारी खटिरहेका छन् ।
बिहीबार गाजाका दुई विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणपछि यो हमला भएको हो । बिहीबारको हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । त्यसबेला इजरायली सेनाले हमासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको थियो ।
गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । अक्टोबर ७ देखि, इजरायलले ग्ल्च्ध्ब् परिसरमा ४३० पटक आक्रमण गरेको छ ।
प्रतिक्रिया