गाजामा इजरायलले गर्‍यो भीषण आक्रमण, ४०० प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायलले गर्‍यो भीषण आक्रमण, ४०० प्यालेस्टिनीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलका लडाकु विमानहरूले गाजामा मंगलबार गरेको हवाई आक्रमणमा कम्तीमा चार सय जनाको मृत्यु भएको छ। जनवरी १९ देखि सुरु भएको पहिलो चरणको अस्थायी युद्धविराम मार्चको पहिलो साता समाप्त भएसँगै इजरायलले दर्जनौं लडाकु विमानमार्फत हवाई आक्रमण गरेको हो।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा कम्तीमा चार सय जनाको मृत्यु भएको हो। हमलामा सयौं जना घाइते भएका छन्। इजरायलले हमासका सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वलाई निसाना बनाएको थियो। ज्यान गुमाउनेमा हमासका एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित अन्य चार जना पनि रहेको हमासले बिबिसीलाई बताएको छ।

आक्रमण गर्नुअघि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्युजलाई बताएकी छन्। एक विज्ञप्तिमार्फत इजरायलले युद्धविराम लम्ब्याउन हमास तयार नभएका कारण आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरेको जनाएको छ। इजरायलको डिफेन्स फोर्सेसले हमासका ‘आतंकवादी निसाना’लाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।

हमासले गाजामा भएको जघन्य हत्याका लागि संयुक्त राज्य अमेरिका जिम्मेवार रहेको आरोप लगाएको छ। आक्रमणपछि हमासले जारी गरेको एक विज्ञप्तिमा मानवतामाथि भएको यो अपराधका लागि इजरायल र अमेरिका जिम्मेवार हुनुपर्ने बताइएको छ। इजरायलका एक अधिकारीले बिबिसीलाई आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन्।

युद्धविराम लम्ब्याउन र बन्धक रिहा गर्न भएका विभिन्न चरणका वार्ता निष्कर्षमा नपुगेपछि आक्रमण गरिएको प्रस्टीकरण उनले दिए। इजरायल–हमासबिच पछिल्लो लडाइँ गत वर्ष अक्टोबर ७ मा सुरु भएको थियो। आक्रमणबाट गाजाका ७० प्रतिशत भवन भग्नावशेषमा परिणत भएको र स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली पनि ध्वस्त भएको बिबिसीले जनाएको छ। सर्वसाधारणले खानेकुरा, इन्धन, औषधि र आवासको समस्या भोग्नुपरेको छ।