काठमाण्डु – लेबनानमा इरान समर्थित लडाकु समूह हिज्बुल्लाह र इजरायलबीच बुधबार भएको युद्धविराम सम्झौता मध्य-पूर्वमा मात्र नभई विश्वभरी नै चर्चाको विषय बनेको छ । इजरायल र हिज्बुल्लाहबीच पछिल्लो एक वर्षदेखि युद्ध चलिरहेको थियो ।
अक्टुबर २०२३ मा गाजामा इजरायलले आक्रमण गरेपछि हिज्बुल्लाहले पनि इजरायलमाथि लेबनान भित्रैबाट रकेट आक्रमण सुरु गरेको थियो । हिज्बुल्लाहले इजरायलमा हमासलाई खुलेर समर्थन गरिरहेको छ ।
इजरायल र हिज्बुल्लाहबीच भएको युद्धविराम सम्झौताका विषयमा पक्ष र विपक्षमा बहस भइरहेको छ ।
इजराइलको अंग्रेजी पत्रिका हारेत्जले हमास र हिज्बुल्लाहको सम्पर्कलाई तोड्नु नै इजरायलको जित भएको टिप्पणी गरेको छ । ‘यसका लागि इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू प्रशंसाका पात्र हुन्’, पत्रिकाले लेखेको छ ।
युद्धविरामपछि हिज्बुल्लाह कमजोर भएको दाबी पनि अरु इजरायली मिडियाहरूको छ । हिज्बुल्लाहलाई फेरि शक्ति हासिल गर्न समय लाग्ने उनीहरूको विश्लेषण छ । ‘हिज्बुल्लाहले शक्ति त्यतिबेला हासिल गर्न सक्छ जब इजरायलले उसलाई मौका दिन्छ’, इजरायली पत्रिका हारेत्जले लेखेको छ ।
हारेत्जका राजनीतिक संवाददाता बराक रैविड लेन्छन्, ‘यो हिज्बुल्लाहको रणनीतिक हार र इजरायलको जित हो । साथै हिज्बुल्लाह नाटकीय रूपले कमजोर पनि भएको छ ।’ हिज्बुल्लाहसँग सम्झौता भएपछि गाजामा जारी युद्धका विषयमा पनि चासो प्रकट भएको छ ।
इजरायल र हिज्बुल्लाबीचको युद्धविराम इरानको सहमतिमा भए पनि यस्तो सम्झौता गाजासँग किन हुन नसकेको भन्ने विषयमा प्रश्न पनि उठेको छ । यसबाट इजरायली प्रधानमन्त्री नेतान्याहूको नियतमा शंका हुन थालेको छ ।
विश्लेषकहरूका अनुसार नेतान्याहू गाजामा युद्धविराम गर्न अनिच्छुक छन् । उनले लेबनानलाई प्राथमिकता दिएका छन् । हमासको सट्टा उनले हिज्बुल्लाहलाई प्राथमिकता दिएको र हमासले बन्धक बनाएकाहरूको रिहाइभन्दा बढी आफ्नो सत्तालाई केन्द्रमा राखेको उनीहरू बताउँछन् ।
हारेत्जले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘नेतान्याहूले हमास कमजोर भएको अवस्थाको फाइदा उठाउनु पर्छ र यस्तै प्रकारको सम्झौता गाजासँग पनि यथाशीघ्र गर्नुपर्छ ।’
अर्कोतर्फ हिज्बुल्लाह समर्थित मीडियाले पनि यस समझौतालाई जितको रूपमा दाबी गरेको छ ।
हिज्बुल्ला समर्थित पत्रिका अल-मनारले लेख्छ, ‘यो लेबनानको जित हो । इजरायली फौजको ठुलो क्षति भएको छ ।’
अल-मनारका अनुसार दक्षिणी लेबनानमा खिआम शहर रणनीतिक रूपमा महत्त्वपूर्ण हो तर त्यसमाथि इजरायलले कब्जा जमाउन सकेको छैन । हिज्बुल्लाह समर्थित अर्को पत्रिका अल–अखबारले मुख्य शीर्षकमै लेखेको छ–अडिग जीत ।
हिज्बुल्लाहसमर्थित अर्को वेबसाइट अल–अहदले लेखेको छ, ‘इजरायलले हिज्बुल्लाहबाट सबक सिकेको छ । र लक्ष्य हासिल गर्न चुकेको छ । जित हिज्बुल्लाहको भएको छ । इसरायलको कमजोरी र क्रूरता दुवै उजागर भएको छ ।’
यसका अतिरिक्त युद्धविराम सम्झौतालाई कतिपयले इरान नै कमजोर भएको बताइरहेका छन् । भारतमा पाकिस्तानका उच्चायुक्त रहिसकेका अब्दुल बासित भन्छन्, ‘ यो सम्झौताबाट इरान अब कसैसँग टक्क्र लिने मुडमा नरेहको र क्रमशः रक्षात्मक बन्दै गएको छ ।’
जानकारहरूका अनुसार डोनाल्ड ट्रम्प सत्तामा आउनु अघि नै इरानले हिज्बुल्लाहबाट मुक्ति चाहेको छ र इरान ट्रम्पसँग टक्कर लिन चाहँदैन ।
अमेरिकाले इरानमा सरकार बदल्न र परमाणु कार्यक्रम रोक्न चाहन्छ । त्यसैले इरान ट्रम्पलाई उस्काउन चाहेको छैन ।
प्रतिक्रिया