इजरायलले गर्‍यो लेबनानमा आक्रमण

इजरायलले गर्‍यो लेबनानमा आक्रमण


काठमाण्डु-इजरायल र लेबनानबीच युद्ध सुरु भएको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ ।

आक्रमण पछि बेरुतको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा ठूलो आक्रमण गरेको हो । यो आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् ।

मंगलबार राति इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि दुई देशबीच तनाव झन् बढेको छ ।

हाल हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ । लेबनान सरकारको समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी (एनएनए)ले लेबनानको एतारुनमा भएको इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो युद्धपछि मध्यपूर्वमा पुनः तनाव बढेको छ । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ ।