जेरुसेलम -इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका पारिवारिक सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ । देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उनी र उनको परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो ।
प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उनकी श्रीमती र उनको छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन् । उनलाई जेरुसेलममा रहेको प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर सोधपुछ गरेको एक जना प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
प्रहरीले उनहरूलाई झण्डै चार घण्टासम्म सोधपुछ गरेर भ्रष्टाचारमा उनको संलग्नता भएको वा नभएको बारेमा अनुसन्धान गरेको ती प्रहरी प्रवक्ताले बताए । उही समयमा उनीहरू तीनै जनालाई छुट्टा छुट्टै सोधपुछ गरिएको थियो ।
प्रधानमन्त्री नेतान्याहुलाई प्रधानमन्त्री निवासमै सोधपुछ गरिएपनि प्रधानमन्त्रीकी पत्नी सारा नेतान्याहुलाई भ्रष्टाचार विरुद्ध काम गर्ने निकायको कार्यालयमा र छोरा याइर नेतान्याहुलाई इजरायली सुरक्षा अधिकारीहरूको कार्यालयमा सोधपुछ गरिएको हो ।
भ्रष्टाचारको अभियोग लागेपछि नेतान्याहु र परिवारका अन्य सदस्यहरू अनुसन्धानको घेरामा परेका छन् भने यही विषयमा नेतान्याहु दम्पत्तिलाई दोस्रो पटक सोधपुछ गरिएको हो । प्रधानमन्त्री पुत्रलाई भने यस विषयमा पहिलो पटक सोधपुछ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
रासस/सिन्ह्वा
प्रतिक्रिया