‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन्, यो अन्त्य होइन, सुरुवात मात्र हो’ : गृहमन्त्री थापा

‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन्, यो अन्त्य होइन, सुरुवात मात्र हो’ : गृहमन्त्री थापा


पाेखरा- गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने दावी गरेका छन् । पोखरामा सोमबार भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि बाहिर आउने बताएका हुन् ।

‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन् । धेरै जना फरार छन्,’ गृहमन्त्री थापाले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्र हो ।’ गृहमन्त्री थापाले यो त एउटा केस मात्र भएको बताएका छन् ।

‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’ गृहमन्त्री थापाले भने, ‘थुप्रै प्रकारका तस्करी भइरहेका छन् । त्यसको अब बिस्तारै अन्त्य हुन्छ ।’

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला स्वतन्त्र मधेसका ब्यानरहरु देखाउनेहरु राष्ट्रिय अखण्डता विरोधी भएको उनको भनाइ थियो। गृहमन्त्री थापाले मदिराकै कारण घरेलु हिंसा बढेकाले त्यतातर्फ कदम चाल्नुपरेको भनाइ राखे। उनले भने, ‘मदिरा निषेध नै त गर्ने होइन तर व्यवस्थित गर्ने हो।’

आइतबार विभिन्न ठाउँमा भेटिएका बमका प्रसंग निकाल्दै गृहमन्त्री थापाले कसैलाई नछाड्ने र कानुनको दायरामा ल्याइछाड्ने बताए। देशमा स्थायी सरकार आइसकेकाले कुनै पनि समूहले विकासमा अवरोध ल्याउन नसक्ने थापाको भनाइ छ।

देशको सुशासन तथा सुरक्षा कमजोर हुनुमा सिन्डिकेट प्रणाली पनि कारक रहेको भन्दै अन्त्य गर्न सरकारले कदम चालिरहेको बताए।