जडिबुटी कम्पनीको महाप्रबन्धक पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त

जडिबुटी कम्पनीको महाप्रबन्धक पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त


काठमाडौं – वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गरेको छ । विगतमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुन महाप्रबन्धकले कम्पनीलाई प्रतिस्पर्धी बनाउन नसकेका कारण योग्य र दक्ष उम्मेदवार छान्न खुला प्रतिस्पर्धा गराइएको थियो ।

खुला प्रतिस्पर्धाबाट ज्ञानेश्वर कार्की महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ । नवनियुक्त महाप्रबन्धक कार्कीले यसअघि नलसिंह गाड जलविद्युत् विकास समितिमा बोर्ड सदस्य, अन्तर्राष्ट्रिय गैसस डानिडामा १५ वर्ष काम गरेको र व्यवस्थापन विषयमा एमबीए अध्ययन गरेका छन् ।

महाप्रबन्धकमा ६ जनाको दरखास्त परेकोमा अन्तर्वार्ताका लागि ३ जना छनौट भएका थिए । अन्तर्वार्ता लिइएका छनौट ज्ञानेन्द्र कार्की, गिरिधर अमात्य र राजेन्द्र ज्ञवालीमध्ये कार्की छनौट भएका छन् । प्रतिस्पर्धी उम्मेदवारलाई कम्पनीको व्यापारिक योजना प्रस्तुत गर्न लगाइएको थियो । छनौट समितिमा मन्त्रालयको प्रशासन शाखाका सहसचिव, वनस्पति विभागका निर्देशक र स्वतन्त्र विज्ञ सहभागी थिए ।