काठमाण्डु– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
विमानमा सवार १८१ जनामध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रुको सकुसल उद्धार गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको भिडियोहरु सार्वजनिक भएका छन् । जसमा तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो।
प्रतिक्रिया