विशेष पुजा गर्न दुई सय ४९ वर्ष पुरानो खड्ग जाजरकोट दरवारमा भित्र्याईयो

विशेष पुजा गर्न दुई सय ४९ वर्ष पुरानो खड्ग जाजरकोट दरवारमा भित्र्याईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सहदेव वस्नेत, जाजरकोट –गोर्खाका राजा पृथ्वीनारायण शाहले २ सय ४९ वर्ष अघि जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरवार वुधवार फुलपाती सहित जाजरकोट दरवारमा भित्रिएको छ । दशैंको सातौ दिन अर्थात फुलपातीका अवसरमा विशेष पुजाआजा गरि उक्त खड्गलाई खलंगाको पिपलडाँडा स्थित जाजरकोट दरवारमा भित्र्याइएको हो ।

 

 

 

तत्कालीन समयमा शक्तिको प्रतीकको रुपमा पुजिने गरिएको उक्त तरवारलाई खर्के देउताको रुपमा स्थानीयले पुज्ने गरेका छन् । वडा दशैंको फुलपाती भित्रयाउने परम्परा अनुसार सदरमुकाम खलंगाको रानागाउँ स्थित २ सय २२ वर्ष पुरानो कालिका मन्दिरवाट विशेष सुरक्षा सहित वुधवार उक्त खड्ग जाजरकोट दरवारमा भित्रयाइएको हो ।

 

 

 

नेपाल एकिकरणको अभियानमा रहेका पृथ्वी नारायण शाहले १८२५ माघ ५ गते उक्त खड्ग जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएका थिए । पृथ्वीनारायण शाह र जाजरकोटी राजा हरि शाहका विचमा गोर्खाली सेना पश्चिम आक्रमणमा निस्किएपछि जाजरकोटी सेनाले सहयोग गर्ने र जाजरकोटी सेना पुर्वतीर आक्रमणमा निस्किएपछि गोर्खाली सेनाले सहयोग गर्ने सम्झौता गर्दै उक्त खड्ग साटासाट भएको ऐतिहासिक दस्तावेजमा लेखिएको छ ।

 

 

पुर्णिमाको रातमा भारत काँसीको मणिकर्णिका घाटमा जल छोएर मितेरी साइनो गाँस्दै शक्तिको प्रतीक स्वरुप उक्त खड्ग अर्थात तरवार जाजरकोटी राजालाई पृथ्वीनारायाण शाहले दिएका थिए । दुइ राज्यका विचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजाले पाएका थिए ।

 

 

 

 

झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरवार विसं.१८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्पार सुरु भएको स्थानीय वृद्ध नागरिक अगुवा केशवजंग शाहले वताए ।

 

 

 

 

जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाई विस्तारै खलंगा स्थित दरवारमा सार्ने उदेश्यले प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजा सहित उक्त खड्गलाई खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको शाहले वताए ।

 

 

 

फुलपातीका दिन जाजरकोट दरवारमा भित्र्याइएको उक्त खड्गलाई दशैंको अस्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे वाजाका ध्वनीका साथ वोका, राँंगाको वलि दिएर भव्य रुपमा पुजा आजा गरि एकादशीका दिन जगतिपुरमै फर्काउने परम्परा रहेको छ तर, मुलुकको १० वर्षे द्धन्दका क्रममा खड्गको असुरक्षा हुने भएपछि रानागाउँ स्थित कालिका मन्दिरमै राख्ने गरिएको छ ।

 

 

 

 

देशमा शान्ति आइसकेकोले खड्गलाई जगतिपुरको मन्दिरमै राख्नु पर्ने खड्ग पुजारी सत्यप्रसाद शर्माले वताए । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई जगतिपुरमै राख्नुपर्ने पुजारी शर्माको भनाई रहेको छ ।

 

 

 

जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देवताको विधिवद पुजा ओझेल पर्दै गएको छ । विगतमा खर्के देवताको पुजाका वेला स्थानीयहरुको जाजरकोट दरबारमा ठुलो मेला लाग्ने गरेको जाजरकोटका अग्रज पत्रकार हरिहरसिंह राठौरले वताए ।

 

 

जाजरकोटको इतिहास, सँस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देवता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिता पनि अहिले सवैले विर्सदै गएको पत्रकार राठौरको भनाई रहेको छ । उनले आफनो परम्परा र इतिहासलाई कुनै पनि हालतमा लोभ हुन दिनु नहुने र यसका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने वताए ।

 

 

जाजरकोटको इतिहास पनि धेरै महत्वपुर्ण रहे पनि खोज अनुसन्धानको अभावले जानकारीमा आउन नसकेको जाजरकोटको इतिहाास र सँस्कृतिका खोजकर्ता राजुराजा सिंहले वताए । पछिल्लो पुस्ताले वेवास्ता गरेका कारण जाजरकोटलाई मुलुकमा चिनाउन गाह्रो भएको सिंहको भनाई रहेको छ ।