काठमाण्डु-कुवेतको जजिरा एयरवेज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । शनिवार बिहान ७ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो ।
दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । तर, १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैहरवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।
जजिराले मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गरेको छ भने ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भरेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार मध्यान्हबाट फ्लाई दुबईले पनि उडान थाल्दैछ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्नेछ । फ्लाई दुबईले भैरहवाबाट साताका सातैदिन उडान गर्नेछ ।
नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे उडान भर्नेछ ।
यसैगरी नेपाल एयरलायन्सले पनि शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरु गर्न लागेको छ ।
नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलायन्सको जहाज काठमाडौंबाट राति १० बजेर २० मिनटमा भैरहवा अवतरण गर्नेछ । त्यसको आधा घण्टा पछि दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ ।
गत भाइटीकाको दिन भैरहवा उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्यान्ह दोस्रोपटक अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो ।
आउने साताबाट थाइ एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट अवतरण गर्नेछ । यात्रु चढाउन एक घण्टा रोकेर थाइल्याण्ड फर्किने तालिका छ ।
नेपाल एयरलायन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वलालाम्पुर–काठमाडौं–भैरहवा उडान कायम रहेको छ । शुक्रबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिएको छ ।
प्रतिक्रिया