जम्मु-कश्मीरमा किन भइरहन्छ पटक-पटक आतंकवादी आक्रमण ?

जम्मु-कश्मीरमा किन भइरहन्छ पटक-पटक आतंकवादी आक्रमण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ‘मिनी स्विट्जरल्याण्ड’ भनेर चिनिने भारतको जम्मु-कश्मीरको पहलगामको अफरोड घाँसे मैदानमा मंगलबार पर्यटकहरू बिदा मनाइरहेका थिए । उनीहरू सबै खुशी थिए भने भरपूर मनोरञ्जन गरिरहेका थिए ।

तर अचानक अन्धाधुन्द गोली चल्यो र २६ जना तत्कालै ढले । एकैछिनमा त्यहाँको वातावरण स्तब्ध भयो ।

घटनामा मारिने भध्ये २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक छन् । यस्तै ३६ जना घाइते छन् ।
आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर–ए–तैयबाको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ ।

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले पनि चिनिने यस ठाउँमा चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेका थिए ।

घटना हुँदा साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोटयार बुधबार बिहानै स्वदेश फर्केका छन् ।

स्वदेश फर्कन पूर्व मोदीले घटनालाई जघन्य कार्यको संज्ञा दिए । उनले घटनामा संलग्न जोकोहीलाई न्यायको कठघरामा ल्याइने पनि बताए ।

‘आतंकवादीहरूको दुष्ट एजेन्डा कहिल्यै सफल हुनेछैन । आतंकवादसँग लड्ने हाम्रो संकल्प अटल छ, र यो अझ बलियो हुँदै जानेछ’, सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन् ।

पहलगामको घटना हालैका दिनम भारतमा भएका आतंवादी घटनाहरू मध्ये सबैभन्दा ठूलो हो । कश्मीर राज्य बाहिरका कामदारहरूमाथि छिटपुट आक्रमणहरू भए पनि पर्यटकमाथि अहिलेसम्म आतंकवादी आक्रमण भएको थिएन ।

आक्रमणपछि पहिलो पहिलो प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले घटनामा पाकिस्तानको संलग्नता रहेको आशंका जनाए ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच द्वन्द्व रहँदै आएको छ । दुई देशबीचले मुख्यतया कश्मीरको क्षेत्रीय विवादका कारण पटक पटक युद्ध भइरहेको छ ।

भारतले पाकिस्तानलाई आफ्ना सुरक्षा बलहरूसँग लड्न इस्लामी आतंककारीहरूलाई आश्रय र हतियार दिएको आरोप लगाउँछ । दशकौंदेखि, भारतीय राज्य विरुद्ध सशस्त्र विद्रोह चलिरहेको छ ।

२०१९ मा मोदी सरकारले भारतको एक मात्र मुस्लिम बहुल राज्य जम्मु र कश्मीरको विशेष दर्जा समाप्त गरेको थियो ।
भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् ।

त्यसपछि यस राज्यलाई केन्द्र शासित प्रदेशबाट घटाएर सिधै दिल्लीको नियन्त्रणमा ल्याइएको थियो ।

जम्मु र कश्मीरमा भइरहको पटक पटकको आक्रमण र द्वन्द्वलाई शान्तिमा बदल्न ५ लाख भारतीय सेना, अर्धसैनिक र प्रहरीका हजारौं सैनिक तैनाथ गरिदैं आएका छन् ।

त्यति हुँदाहुँदै त्यहाँ असहज शान्ति छ । कहिलेकाहीं अविवेकी हिंसाले शान्तिलाई भङ्ग गर्छ र यसको सबैभन्दा ठूलो मूल्य आम मानिसहरूले चुकाउँछन् ।

२०१९ मा भारतको सैन्य जत्थाको गाडीमा आत्मघाती बम आक्रमण भयो । जसमा ४० अर्धसैनिक सैनिकको मृत्यु भएको थियो ।
घटनामा भारतले पाकिस्तानलाई इस्लामी आतंककारीहरूलाई आश्रय दिएको आरोप लगायो र सीमापार सीमित हवाई हमलाहरू गरेको थियो ।

त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो ।

गत हप्ता इस्लामाबादमा आयोजित प्रवासी पाकिस्तानी सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले भनेका थिए, ‘हाम्रो अडान पूर्ण रूपमा स्पष्ट छ । हामी कश्मीरको घाँटीको नसा छौं । हाम्रो घाँटीको नसा रहनेछ, हामी यसलाई बिर्सने छैनौं ।’

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण समेत गरी करिब दशौँ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवद्र्धन गरिरहेको छ ।

गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्याङ्कहरूले देखाएका छन् ।