जनकपुर बोल्ट्सले आजदेखि एनपीएल ट्रफी परेड गर्दै

जनकपुर बोल्ट्सले आजदेखि एनपीएल ट्रफी परेड गर्दै


काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेश प्रदेशका आठवटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्दैछ ।

जनकपुरधाम पुगेको टोलीले शुक्रवारदेखि ट्रफी परेड सुरु गर्न लागेको हो । रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुनेछ ।

जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन शुक्रवार धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ । शुक्रबार रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुनेछ ।

दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ । बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुने छ ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।