डिब्बा भाडामा ल्याएर आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेल चलाइने

डिब्बा भाडामा ल्याएर आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेल चलाइने


काठमाडौं – जनकपुर-जयनगर रेलमार्ग आगामी डिसेम्बरदेखि सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ ।

भारत र नेपालका अधिकारीहरुको मंगलबार सम्पन्न बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । रेलको डिब्बा नेपालमा नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालको हुने उनले बताए । भारतले भाडामा उपलब्ध गराउने रेलको रङ नेपालले चाहे अनुसारकै हुने र रेलमा नेपालकै झण्डा समेत राखिने छ ।

रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैंले डिब्बा किन्ने तयारी छ । ‘तत्कालै किनेर ल्याउदा हामीसँग अनुभव नभएका कारण केहि समस्या हुनसक्छ । जनशक्ति पनि छैन’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले अहिले भाडामा ल्याउने हो, हामीसँग जनशक्ति र अनुभव भए पछि आफ्नै रेल गुडाउछौं ।’

भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।