सरकारी योजना खरिदबिक्री आरोपमा जनमत पार्टीको यस्तो निष्कर्ष

सरकारी योजना खरिदबिक्री आरोपमा जनमत पार्टीको यस्तो निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेश सरकारमा योजना खरिदबिक्री हुने गरेको आरोप निराधार रहेको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ ।

शुक्रबार जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले मधेश प्रदेश सभामा योजना खरिद बिक्रीबारे लगाइएको आरोप निराधार भएको निष्कर्ष निकालेको छ ।

गत चैत २७ गते प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले सरकारमा योजनाहरू खरिदबिक्री हुने गरेको आरोपबारे जबाफ दिएका थिए । मधेश प्रदेश सभामा प्रदेशसभा सदस्यहरूको यस्ता अभिव्यक्ति संघीयताविरोधी रहेको संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ ।

‘यस्ता अभिव्यक्तिले संघीयतालाई सुनियोजित तरिकाले समाप्त पार्न मलजल गर्ने हाम्रो ठहर छ,’ जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले भने, ‘बिना आधार यस्तो आरोप लगाउनु भनेको लाखौं जनताको बलिदानबाट प्राप्त संघीयतालाई समाप्त पार्न खोज्नु हो ।’

नेता यादवले सरकारले दिएका योजनाहरूको गहन छानबिन गर्ने बताए । उनले अहिलेका योजना र भावी योजना र सरकारको काम–कारवाहीबारे मुख्यमन्त्री सतिशकुमार सिंहले विस्तृत कार्ययोजना आगामी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने जानकारी दिए ।

संसदीय दलको बैठकमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहबारे पनि आइरहेका आरोपबारे पनि छलफल गरिएको छ । सो क्रममा मन्त्री साहले बैठकमा मौखिक जवाफ दिएका थिए । उनीसँग संसदीय दलको बैठकले लिखित जवाफ माग गरेको छ ।