काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएर पार्टीका बैठकहरू सुरु गर्न लाग्दा उपमहासचिव जनार्दन शर्माको प्रस्तावले पार्टीभित्र तरङ्ग ल्यायो । शर्माले नेतृत्व परिवर्तनको प्रस्तावलाई स्थायी समिति बैठकमा उठान गरे ।
नेतृत्व पुस्तान्तरण गरेर अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने शर्माको प्रस्ताव थियो । हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कूलिङ, प्रशिक्षण गर्ने र दोस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव उनले गरे । त्यो पनि नभए हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न पनि शर्माको प्रस्ताव थियो । प्रचण्डलाई खुला चुनौती दिने गरी पार्टीमा आएको प्रस्ताव यतिबेला सामसुम भएको छ ।
माओवादीको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले आक्रामक रूपमा नेतृत्व पुस्तान्तरणको प्रस्ताव राखेका थिए । तर उनी पछिल्लो समय रक्षात्मक हुँदै गएका छन् । स्थायी कमिटी बैठकपछि माओवादीले सातै प्रदेशमा परामर्श बैठक गरेको छ । परामर्श बैठकमा केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता थियो ।
मधेश प्रदेशमा अन्तिम परामर्श बैठक सकिएलगत्तै माओवादी केन्द्रीय कमिटी बैठकतिर केन्द्रित भएको छ । केन्द्रमा स्थायी कमिटी बैठक हुँदा राजनीतिक माहोल तरङ्गित हुने गरी प्रस्ताव ल्याएका उपमहासचिव शर्मा प्रदेशका परामर्श बैठकमा शान्त देखिए, परामर्श बैठकमा शर्माको प्रस्तावबारे छलफल भएन ।
नेतृत्व पुस्तान्तरणको प्रस्ताव ल्याउँदा ‘जनार्दन शर्माले पार्टी विभाजन गर्न खोजेको’ हल्ला फैलियो । यसै हल्लालाई चिर्दाचिर्दै उपमहासचिव शर्माको ऊर्जा सकिएजस्तो भएको छ । स्थायी कमिटी बैठकमा शर्माको फरक प्रस्ताव आउँदै नै पार्टी विभाजनको हल्ला फैलिइसकेको थियो । साउनमा भएको माओवादी स्थायी समिति बैठकबारे भदौ २ गते गरिएको अन्तरपार्टी परिपत्रमा उपमहासचिव शर्माको प्रस्ताव र विषय समेटिएन ।
कर्णाली प्रदेशको परामर्श बैठकमा शर्माले असन्तुष्टि व्यक्त गरेपछि भदौ १६ गते अध्यक्ष प्रचण्डले अर्काे परिपत्र गर्दै लेखे, ‘ पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क. जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँदैछ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै, हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो ।’
पार्टी विभाजनको प्रचारमा सत्यता नभएको प्रस्ष्टीकरणयुक्त परिपत्रयता उपमहासचिव शर्माको नेतृत्व पुस्तान्तरणको एजेन्डा सामसुम भएको छ । प्रदेशस्तरीय परामर्श बैठकमा उनी पनि सहभागी हुँदै आएका छन् तर नेतृत्व पुस्तान्तरणको एजेन्डा छलफलमा आएको छैन । बरु अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई मजबुत बनाउँदै लैजानुपर्ने विषयमा परामर्श बैठकहरूमा छलफल भएको छ ।
अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माको भावनालाई केन्द्रीय समिति बैठकमा पेश हुने दस्तावेजमा समेट्ने आश्वासन दिएका छन् । तर शर्माको प्रस्तावलाई प्रचण्डले कसरी समेट्छन् भन्ने हेर्न बाँकी छ ।
माओवादीले स्थायी कमिटी बैठकले बनाएको कार्ययोजनाअनुसार सबै प्रदेशमा परामर्श बैठक सकेको छ । माओवादीको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको बैठक पनि भइसकेको छ । पार्टी सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक हुनेछ ।
सरकारबाट बाहिरिएपछि माओवादी सत्तापक्षको घेराबन्दीमा समेत पर्दै आएको छ । माओवादी सत्तामा हुँदा पारित हुन नसकेको टीआरसी विधेयक संसद्बाट पारित भए पनि ‘हिंसा’ शब्दको प्रतिवाद गर्नमै माओवादी रुमल्लिएको छ । संसद्मा माओवादी आन्दोलन हिंसा नभएको माओवादीको प्रस्टीकरण र माओवादीले हिंसा नै गरेको भनेर पुष्टि गर्ने प्रमाण जुटाइरहेको एमालेबीच वाकयुद्ध नै देखिन्छ । टीआरसी विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनका घटनामा कारवाही गर्ने विषय समेटिएकाले पनि कतिपय नेता कारवाहीको दायरामा आउनसक्ने चिन्ता माओवादीभित्र छ । यस्तो बेला माओवादीले पार्टीभित्रको आन्तरिक एकता प्रदर्शन गर्नुपर्ने बाध्यता पनि छ ।
अध्यक्ष प्रचण्डले यस्तो बाध्यतालाई मौकामा परिणत गर्दै उपमहासचिव शर्माको नेतृत्व पुस्तान्तरणको प्रस्तावलाई पन्छाएर आफ्नै नेतृत्वलाई जोड दिने माओवादी नेताहरू बताउँछन् । ‘प्रचण्ड परिस्थितिलाई आफू अनुकूल ढाल्न माहिर हुनुहुन्छ, माओवादीमाथि भइरहेको आक्रमणलाई देखाएर उहाँले जनार्दन कमरेडलाई शान्त राख्न सक्नुहुन्छ,’ स्रोतले भन्यो, ‘जनार्दन कमरेडको प्रस्तावको पक्षमा खुलेर बोल्ने अन्य कोही पनि नेता नभएकाले उहाँको प्रस्ताव अगाडि बढाउन नेतृत्वमाथि दबाब पनि छैन ।’
आगामी केन्द्रीय समिति बैठकमा पेश हुने दस्तावेजमा उपमहासचिव शर्माको भावना सम्बोधन हुन्छ वा हुँदैन ? हेर्न बाँकी छ । केन्द्रीय समिति बैठक दशैंपछि बस्ने माओवादीको तयारी छ ।
प्रतिक्रिया