स्वराजको भ्रमणले पार्टी एकतामा कुनै प्रभाव पार्दैन : जनार्दन

स्वराजको भ्रमणले पार्टी एकतामा कुनै प्रभाव पार्दैन : जनार्दन


सुर्खेत– माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले एमालेसँग पार्टी एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन्।

वाम गठबन्धनबीच पार्टी एकताका लागि तीव्र छलफल भइरहेका बेला पूर्वगृहमन्त्री शर्माले मंगलबार सुखर्तेमा पत्रकारहरूसँग भने, ‘पार्टी एकता भइसक्यो, औपचारिकता दिन मात्र बाँकी छ।’

दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुने उनले बताए।

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताए।

एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न पनि उनले आग्रह गरे।

शर्माले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव नपार्ने बताए।

नेता शर्माले माओवादीको भागमा परेको प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो माघ २५ गते निश्चित रुपमा लाग्ने बताए।