काठमाण्डु – संसदीय छानविन विशेष समितिले अर्थ मन्त्रालयको मेटिएको सिसीटिभी फुटेज रिकभर गरेर यथार्थ पत्ता लगाउने निर्णय गरेको छ ।
समितिले आज अर्थ मन्त्रालयमा मेटिएको हार्डडिस्क रिकभर गरेरै हेर्ने निर्णय गरेको हो । बजेट बनाउने क्रममा गत जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति सामेल गराई तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरफेर गरेको समाचार सार्वजनिक भएको थियो ।
उक्त विषयमा छानविन गर्न गठित विशेष संसदीय समितिले अर्थमन्त्रालयमा रहेको सिसी टिभी क्यामेराको फुटेज रिकभर गर्न नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
यससँगै अब अर्थमन्त्रालयमा जेठ १४ गते को आएको थियो भन्ने कुरा दुधको दुध पानीको पानी हुने सम्भावना छ । यद्यपि अर्थमन्त्रालयमा हार्ड डिस्क नै साटिएको आशंका समेत गरिएकोले अझै शंका भने बाँकी नै छ ।
तत्कालिन अर्थ मन्त्री शर्मामाथि छानविन गर्न गठित संसदीय समितिले मन्त्रालयमा राखिएको सिसिटीभीको हार्डडिक्स अनुसन्धानका लागि नेपाल प्रहरीको फरेन्सीक ल्याबमा पठाउने भएको हो । जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि हार्डडिक्स नै पठाउन लागिएको स्रोतले बतायो ।
संसदीय छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अबैध व्यक्ति अर्थमन्त्रालयमा घुसपैठ गराएको बारे छानविन जारी राखेको छ । समितिका सदस्य उध्रित गर्दै नेपाल प्रेसले आज प्रकाशित गरेको समाचारमा भनिएको छ ‘अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज आएन । अब सीसीटीभीमा प्रयोग भएको हार्डडिस्क नै नेपाल प्रहरीको ल्याबमा पठाउँदैछौं । यदि हार्ड डिस्क नै परिवर्तन गरिएको भए त्यहाँबाट पत्ता लाग्छ ।’
विशेष समितिले अर्थमन्त्रालयको सिसी क्यामेराको दृष्य मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएकोमा प्रहरीको फरेन्सिक ल्याब सबैभन्दा उत्तम स्थान भएको सुझावका आधारमा आज उक्त निर्र्णय गरिएको हो ।
प्रतिक्रिया