जनताले यो सरकारलाई थुकिराखेका छन्, कम्युनिष्ट भन्नपनि लाजै लाग्छ -सिपी गजुरेल

जनताले यो सरकारलाई थुकिराखेका छन्, कम्युनिष्ट भन्नपनि लाजै लाग्छ -सिपी गजुरेल


काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । उनले भने,‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन । संविधानतः ओलीको अहिले विकल्प छैन् । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरे । उनले भने,‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन । यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन् ।’

उनले भने,‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन्।’ ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उनले गुनासो पोखे । उनले भने,‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ । दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ ।’

नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । उनले भने,‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारप िहत्या भएको यत्तिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भने । उनले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिए ।’

मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेरे पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ । ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन् । कहाँ हरायो रु भन्नेबारे सरकारलाई केही थाहा छैन् ।’

चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए । उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयक नै टेबुल भएन् । अहिले मेडिकल साईन्स पढ्ने प्रति विद्यार्थीबाट ३५ लाख बढि रकम असुली भैरहेको छ । भ्रष्टाचार त्यसैगरि मौलाएको छ । यी सबै कुरामा सरकार असफल भैसकेको छ ।’

प्रधानमन्त्री ओलीले अब प्रत्येक नेपालीको घरको चुलोमा विजुलीको तार पुर्याउने भनेर हिजो सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै गजुरेलले भने,‘विजुलीको तार त अहिलेपनि छ नि । जनताको आँखामा यसरी छारो हाल्ने काम गरिएको छ । योभन्दा हाँस्यस्पद अरु के हुन्छ रु’ उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएको उल्लेख गर्दै अहिले संविधानतः सरकारलाई हटाउन नसकिने बताए ।

गजुरेलले भने,‘यो मन नपरेको र असफल भैसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिँड्नुपर्ने हो रु सरकारलाई हटाउनपनि सकिँदैन् । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियती रु यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने रु संविधानमा त्यो अधिकार खोसिएको छ ।’

उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’

कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लागेर आउने उनले सुनाए । उनले भने,‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ । जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ ।’

सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । उनले भने,‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्यौं । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरु छन् । तर, कार्यगत एकता गर्यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन् । विप्लवका नेताहरुलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ।’

उनले आफ्नो तर्फबाट पार्टीले जनताको बिचमा कुराहरु राख्दै जाने पनि सुनाए । उनले भने,‘हामी देश र जनताविरुद्ध हुने सबै खाले षड्यन्त्र, राष्ट्रघात र जनघातहरुको भण्डाफोर गर्दै जान्छौं । अहिले हामी आन्तरिक रुपमा कमजोर छौं । संगठन बनाउन हामी लागिपरिरहेका छौं । सडक आन्दोलन त हामीले गरिरहेका छौं । तर, ठूलो आन्दोलन र आमसभा गर्ने स्थिति अहिले हाम्रो छैन् ।’ यद्धपी उनले आफ्नै पार्टीको शक्तिमा भरपर्दै अगाडि बढ्ने आफूहरुको रणनीति रहेको पनि सुनाए ।