आम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

आम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति यादव


काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित अत्याधुनिक नयाँ उपकरणको व्यवस्था गरी सर्वसुलभ गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गर्न अस्पताल सफल हुने विश्वास गरे ।

पूर्वउपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले देशकै मूर्धन्य राजनेताको नाममा स्थापित अस्पताललाई सेवामुखी एवं परोपकारी भावनाले आम जनताको पहुँचभित्र रहने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पूर्वस्वास्थ्यमन्त्रीद्वय अर्जुननरसिंह केसी र विपिन कोइरालाले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका माझ सेवा प्रवाहका हिसाबले नमूना अस्पतालका रुपमा विकास गर्न बिपीस्मृति अस्पताल सफल हुने विश्वास गरे । अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले गरीब एवं विपन्न वर्गकोसमेत पहुँच पुग्ने गरी गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गरेको अस्पतालले गत एक वर्षमा करीब ८० हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिए ।

सो अस्पतालले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरसहित विभिन्न पाँच स्थान, रामेछाप, नुवाकोट दरबार र काभ्रेपलाञ्चोकको पाँचखालमा स्वास्थ्य शिविर सञ्चालन गरेको र स्वास्थ्य सहायक तथा स्टाफ नर्स गरी ५०० स्वास्थ्यकर्मी उत्पादन गरेको जनाएको छ ।

यस वर्ष पनि देशका विभिन्न स्थानमा स्वास्थ्य सेवा सञ्चालन गर्ने, प्रदेशस्तरमा स्याटलाइट सेवाकेन्द्र विस्तार गर्ने, न्यूरो सर्जरी विभाग खडा गरी सिटिस्क्यान र एमआरआई मेशिनको व्यवस्था गर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षा परिसर ९सिटिइभिटी० बाट थप कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष डा केसीले जानकारी दिए । हाल सो अस्पतालको शेयर पूँजी सात करोड नौ लाख र स्थिर सम्पत्ति १८ करोड ८८ लाख ५५ हजार रहेको अस्पतालका कोषाध्यक्ष प्रेमकुमार उलकले जानकारी दिए ।