काठमाण्डु- मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनाएको छ ।
केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव रहेको दुई सदस्यीय कार्यदल बनाइएको जनमतले जनाएको छ । जनमत पार्टीले सचिवालय समितिबाट निर्णय गर्दै मोर्चाबन्दी गर्न कार्यदल गठन गरेको हो ।
पछिल्लो समय मधेशकेन्द्रित दल मोर्चाबन्दी र एकताको प्रयत्न थालेका छन् । अधिकांश दलहरूले कार्यदल बनाएर पार्टी एकता थालेका हुन् ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको लोसपाले जनाएको छ ।
त्यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो । त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।
यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।
प्रतिक्रिया