काठमाण्डु- थरूहट, थरूवान आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथकतावादी संघर्ष त्यागेर मूलधारको राजनीतिमा आएको जनमत पार्टी एकीकरणको अन्तिम चरणमा छन् ।
दुवै पार्टीले एकता गर्ने निर्णय केन्द्रीय समितिबाटै गरिसकेको छ ।एकता प्रक्रियाका बाँकी कामलाई टुंग्याएर दुवै पार्टी १७ वैशाखमा एकीकरण घोषणा गर्ने तयारीमा छन् ।
दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।
दुवै पार्टीले गृहकार्य गरिरहेको भए पनि एकताको आधारभूत कुराहरू टुंगो लाग्न बाँकी रहेकाे नाउपा नेता गङ्गाराम चौधरीले बताए ।
उनले यद्यपि नयाँ पार्टीको खाका दुवै पार्टीको एकता प्रस्तावमा समेटिएको छ र एकीकरणको पूर्वसन्ध्यामा बस्ने दुवै पार्टीको अन्तिम केन्द्रीय समितिले अनुमोदन गर्ने बताए ।
दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।
जनमत पार्टीका सचिव वीपी साहले पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल अन्तिम चरणमा रहेको बताए । उनले १७ वैशाखमा पार्टी एकीकरण घोषणा गर्नेगरी दुवै दल अन्तिम तयारीमा रहेको बताए ।
दुवै पार्टीका तर्फबाट गठित कार्यदलले नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव, पदाधिकारीका संख्या आदि विषयमा टुंगो लगाइ सकेको । पार्टीको विधान लेख्ने काम पनि करिब सकिएको सचिव साहले बताए ।
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पनि एकीकरण प्रक्रियालाई चाँडै टुंग्याउने गरी छलफल भइरहेको बताए ।
उनका अनुसार कार्यदल तहमा छलफल भएका विषयलाई अन्तिम रूप दिने काम भइरहेको बताए ।
पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ ।’
‘हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाव चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ’, ‘सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ,’ सचिव साहले भने ।
पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको दुवै दलका नेताहरू बताउँछन् ।
२०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसद्मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।
७ सय जनाको केन्द्रीय समिति
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी अर्थात् नाजपा रहने तय भएको छ । नेताहरूका अनुसार एकीकृत पार्टीको केन्द्रीय पदाधिकारी २५ सदस्यीय हुनेछ । यस्तै केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ।
२५ सदस्यीय केन्द्रीय पदाधिकारीमा दुवै पार्टीका १२/१२ जना र एक जना चौधरी पक्षको रहनेछ । यस्तै कार्यसम्पादन समिति ५१ सदस्यीय र केन्द्रीय समिति करिब ७ सय जनाको रहने छ ।
पार्टीको चुनाव चिह्न ढकिया नै रहने छ । यसअघि ढकिया नागरिक उन्मुक्तिको चुनाव नै चिह्न हो । पार्टीको झण्डा भने वैजनी रङको चौकुने आयातभित्र ढकिया हुनेछ ।
एकतापछि ७ प्रदेशमध्ये जनमत र नागरिक उन्मुक्तिले क्रमशः ३/३ वटामा नेतृत्व लिनेछन् । त्यसमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिले र कोशी, मधेश र गण्डकीमा जनमतले नेतृत्व गर्नेछन् । बागमतीमा भने दुई अध्यक्षात्मक प्रणाली अपनाइने नेताहरूले बताएका छन् ।
पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकृीकत पार्टी १० सीटका साथ छैठौँ स्थानमा पुग्ने छ । संसदमा अहिले नेकपा (एस)का १० संसाद छन् ।
प्रतिक्रिया