काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग भएको ११ बुँदे सम्झौतामा उल्लेखित जनअभिमत शब्दलाई जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् । उनले ‘जनअभिमत’ र ‘जनमत संग्रह’ फरक शब्द रहको दाबी गरे ।
आइतबार प्रतिनिधिसभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए । गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नै नदिएको भन्दै उनले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे ।
उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे । सरकारलाई धोका दिन गठबन्धनले सरकारसँग सहमति गरेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको बताए । ‘सरकार र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ’, उनले भने, ‘सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन् ।’
प्रतिक्रिया