काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका बताएका छन् ।
समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्ने बताएका हुन् ।
जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको प्रचण्डले स्वीकार गरे । उनले संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताए । उनले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गरे ।
कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्टी्भित्रै पहिलोपटक समावेशिता लागु गरेको बताए । उनले लोकसेवा आयोगको आरक्षणसमेत खोजेको भन्दै आपत्ति जनाए ।
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।
प्रतिक्रिया