काठमाण्डु – जापानको प्रशान्त महासागरीय तटमा निकै शक्तिशाली आँधी आएको छ ।
शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौं उडान र रेल सेवा रद्द हुनुका साथै ४ हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् ।
जापानको राजधानी टोकियोबाट करीब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।
आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करीब ४ करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ ।
जेएमएले आँधीको समयलाई धेरै कडा मौसमको रूपमा मूल्यांकन गरेको छ । यसलाई भयानक आँधीको उच्चतम श्रेणीभन्दा १ डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रतिघण्टाको दर रहेको उल्लेख गरेको छ ।
जेएनएले सामाजिक सञ्जालमार्फत आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।
अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ ।
आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका ४ हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ ।
निप्पोन एयरले शुक्रबार सबै ३३५ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ र यसका कारण ७२ हजार यात्रुहरू प्रभावित भएका छन् ।
जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ ।
टोकियो र नागोयाबीचको व्यस्त क्षेत्रसहित जापानको बुलेट ट्रेन सेवाको सञ्जालका प्रमुख भागहरू पनि शुक्रबार बन्द हुनेछन् भने टोकियो डिज्निल्यान्डका सञ्चालकले पार्क दिउँसो ३ बजेदेखि बन्द हुने बताएका छन् ।
प्रतिक्रिया