एजेन्सी – जापानका शिक्षामन्त्री कोइची हागिउदाले जापान सरकारले आगामी केही दिनमा देशैभरका विद्यालय बन्द गर्न लागेको जानकारी दिँदै त्यस समयमा घरभित्रै बस्न बालबालिकालाई आग्रह गरेका छन् ।
कोरोना भाइरसको संक्रमणको त्रासमा जापान सरकारले पनि आगामी मार्च २ देखि देशैभरका विद्यालय बन्द गर्न लागेको जनाएको छ । शिक्षामन्त्री कोइची हागिउदाले शुक्रबार सो जानकारी दिएका हुन् । साथै उनले त्यस अवधिमा बालबालिकालाई घर बाहिर ननिस्कन भनेका छन् । मार्च २ तारिखदेखि यहाँको सरकारले विद्यालय बन्दको कार्यक्रम राखेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न जापान सरकारले यो नीति अख्तियार गर्न लागेको उनले बताए । विद्यालयमा बालबालिकाका माध्यमबाट पनि प्राणघातक यस भाइरसको संक्रमण बढ्न सक्ने अनुमान गरेर सरकारले यो नीति लिएको हो । शिक्षामन्त्री हागिउदाले भने,“विद्यालय बन्द गरिएपनि बालबालिका खेल्न या अरु कारणले बाहिर जाने अवस्था भयो भने उक्त संक्रमणको प्रकोप फैलिने क्रम नरोकिन सक्छ, त्यसैले बालबालिकालाई घरमै राख्नका लागि सबैको सहयोगको आवश्यकता छ ।
यस कार्यका लागि बालबालिकाका आमाबुबाका साथै सबै मन्त्रालय र निकायको पनि सहयोग र समन्वय आवश्यक रहेको धारणा पनि उनले राखेको प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरसको त्रास रहेको जापानमा पनि समूहगत रुपमा यसको संक्रमण फैलिने काममा विद्यालय पनि पहिलो खतराको सूचीमा रहेको विज्ञहरुले दिएको सुझावका आधारमा यो निर्णय लिइएको पनि उनले जानकारी दिए ।
जापान सरकारले यही मार्च २ तारिखदेखि प्राथमिकदेखि माध्यमिकसम्मका सबै विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरिसकेको छ । जापान सरकारले विद्यालय बन्दको यो कार्यक्रम अकस्मात ल्याएको बताइएको छ । यस विषयको कुनै तयारी यसअघि नगरिएको शिक्षा अधिकारीहरुले जनाएका छन् ।
यसअघि कुनै छलफल नै नभएको यस विषयमा सरकारले बिहीबार अकस्मात निर्णय सुनाएको र त्यसको कुनै पनि तयारी नरहेको विद्यालय तहका शिक्षक र अभिभावकहरुले जानकारी दिएका छन् ।
विद्यालय बन्दको यस कार्यक्रमको सार्वजनिक घोषणा जापानी प्रधानमन्त्री सिन्जो आबेले गरेका थिए । प्रधानमन्त्री आबेले बिहीबार शिक्षा क्षेत्रका अधिकारीहरुको बैठक बोलाएर विद्यालयहरु बन्द गर्न सार्वजनिक घोषणा गरेका थिए । सरकारको यही घोषणाको कार्यान्वयनका लागि आवश्यक सहयोगको याचना जापानी शिक्षामन्त्री हागिउदाले गरेका हुन् ।
प्रतिक्रिया