काठमाण्डु-जापानमा आज आम निर्वाचनका लागि मतदान भइरहेको छ । ४ सय ६५ सदस्यीय संसदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टी एलडीपी गठबन्धनले बहुमत ल्याउने दाबी गरेको छ ।
यद्यपी मिडिया पोलले भने उसको दावीलाई स्विकारेका छैन । सत्तारूढ दलभित्रको किचलो र राज्यकोषमा भएको अनियमितताबाट दिक्क भएका जापानीले नयाँ नेतृत्व चुन्ने देखिन्छ ।
सन् २०२१ पछि जापानमा पहिलो आम निर्वाचन भएको हो । समानुपातिक र प्रत्यक्ष उम्मेदवारका लागि मतदाताले भोट खसालिरहेको जापानी मिडिया क्योदो न्यूजले जनाएको छ ।
निर्वाचनको अन्तिम परिणाम सोमबार बिहानसम्ममा आइसक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । राजनीतिमा जनताको विश्वास पुनस्र्थापित गर्ने भन्दै प्रधानमन्त्री शिगेरु इसिबाले अक्टोबर ९ मा संसद विघटन गरेका थिए ।
६७ वर्षीय प्रधानमन्त्री इसिबाले मुद्रास्फीतिको नकारात्मक प्रभावलाई कम गर्ने, सुरक्षा खतराहरू विरुद्ध जापानको प्रतिरक्षालाई बलियो बनाउने लगायतका वाचा गरेका छन् ।
यो निर्वाचनले प्रधानमन्त्री इसिवाको राजनीतिक भविष्य तय गर्दैछ । प्रधानमन्त्रीमा नियुक्त भएको ९ दिनमै प्रधानमन्त्री इसिवाले राजनीति भविष्य दाउमा राखेर मध्यावधी निर्वाचनको घोषणा गरेका थिए । सत्तारुढ दलभित्रको किचलोका कारण एलडीपीले जनताको विश्वास गुमाउने आंकलन गरिएको छ ।
प्रतिक्रिया