जापानमा सत्तारुढ दल एलडीपीको गुम्यो बहुमत

जापानमा सत्तारुढ दल एलडीपीको गुम्यो बहुमत


काठमाण्डु-जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । आइतवार भएको निर्वाचनमा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो ।

जापानको तल्लो सदनमा रहेको ४६५ सीटमध्ये एलडीपीले १९१ सीट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा २१५ सीट भएको छ । बहुमतका लागि २३३ सीट आवश्यक पर्छ ।

सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको निर्वाचनमा पनि बहुमत गुमाएको थियो । तर अरु दलसँगको साझेदारीमा एलडीपीले नै शासन गर्दै आएको छ ।

अघिल्लो निर्वाचनमा एक्लै २४७ सीट जितेको एलडिपी यसपटक १९१ सीटमा खुम्चिएको छ । प्रमुख विपक्षी दल कन्स्टिच्यूस्नल डेमोक्रेटिक पार्टी अफ जापानले १४८ सीट जितेको छ ।

एलडीपीको नेतृत्वका लागि गएको महिना भएको निर्वाचनमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गरेका थिए ।

तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको बीबीसीले जनाएको छ ।