नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो, ४५ हजारलाई कामको अनुमति दिइने

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो, ४५ हजारलाई कामको अनुमति दिइने


काठमाडौँ – विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मंगलबार पारित गरेको छ । सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो।  आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ।

केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।  जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ ।

नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ ।  कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियाली लगायत आठ देशका नागरिकलाई अवसर दिने उक्त समाचारपत्रमा जनाइएको छ । विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत् बारम्बार छलफल भएको थियो। यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलवार पारित नीतिअनुसार अब आउने कामदारहरू सहरहरूमा मात्र केन्द्रित नहोऊन् भन्नेमा उनीहरू गम्भीर रहेको जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्।
दलालहरूले विदेशी कामदारहरूलाई ’बँधुवा मजदुर’ का रूपमा काम गराउन सक्ने सम्भावनाप्रति सतर्क हुँदै जापान सरकारले बलियो परीक्षण प्रक्रिया ल्याउन लागेको जापान टाइम्सले जनाएको छ। जापानले विदेशी कामदारका लागि लिएको अहिलेसम्मकै ठूलो भनिएको यस नीतिअन्तर्गत त्यहाँको सरकारले ३.४ अर्ब जापानी युआन विदेशमा आफ्नो भाषा शिक्षाका लागि खर्च गर्दैछ।