जापान नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्र : अध्यक्ष प्रचण्ड

जापान नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्र : अध्यक्ष प्रचण्ड


काठमाडौं – सोमबार राजधानीमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गरेका छन् ।

अध्यक्ष दाहालले जापानले विनाशर्त निस्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराए । उनले विना दबाब, शर्तरहीत सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पारे । अध्यक्ष प्रचण्डले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पनि उल्लेख गरे ।

उनले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले पनि विशिष्ट ढंगको रहेको पनि बताए । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रशंशा गरे । उनले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराए ।