जसपा सुनसरी अध्यक्ष राई एमाले प्रवेश

जसपा सुनसरी अध्यक्ष राई एमाले प्रवेश


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा राई एमाले प्रवेश गरेका छन् ।

राई लगायत एमाले प्रवेश गर्ने नेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई लगायतका नेताहरूले पार्टीमा स्वागत गरे ।

बैठकले मिसन २०८४ लाई केन्द्रित गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेट समेत निर्माण गरेको छ ।

एमाले प्रवेश गरेका राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताए । देशलाई निकास दिन एमालेबाहेक अन्य दलले नसक्ने उनले सुनाए । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एमाले केन्दद्रीय सदस्य शेरधन राईले सानातिना मतभेदलाई बिर्सिएर पार्टीको सबै ध्यान मिसन २०८४ मा केन्द्रित गर्नुपर्ने बताए । उनले २०८४ सालको निर्वाचनमा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले सबै राष्ट्रभक्त नेपालीहरूलाई नेकपा एमालेमा समाहित हुन पनि आह्वान गरेका छन् ।