काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप १ दिनका लागि लम्बिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुंगिएकाले बैठक लम्बिएको छ ।
ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरी आईतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।
आईतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि ४ महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन विस्तार अभियानको समीक्षा भएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ ।
यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ । सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरू चयन गर्नेछ ।
३ जना विभागीय प्रमुखसहित ३५ सदस्यीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरी यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनउपर सोमबार छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकले केही संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम प्रारूप दिइनेछ ।
पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेश केन्द्रित दलहरूको संयुक्त मोर्चा लगायतका एजेण्डामा सोमबार छलफल गर्ने गरी बैठक सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया