जय ट्रफी एलिट कप : आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

जय ट्रफी एलिट कप : आरिफको कप्तानीमा पुलिसको टोली घोषणा


काठमाण्डु- नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ ।

नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तान बनाएको हो । ऐरी आईएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् ।

टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल छन् ।

यस्तै रशिद खान, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेला टोलीमा समेटिएका छन् ।
रातो बल र सेतो जर्सीमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम खेल्नेछन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश छन् ।

इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ । यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जानकारी दिएको छ ।

बागमतीले सन्दीपको कप्तानीमा टोली घोषणा गरिसकेको छ । प्रधानमन्त्री कपमा आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको थियो ।