प्रधानमन्त्रीले यसपटकको चिन भ्रमणमा ऋण सम्झौता गर्नुहुदैन : नेता खनाल

प्रधानमन्त्रीले यसपटकको चिन भ्रमणमा ऋण सम्झौता गर्नुहुदैन : नेता खनाल


काठमाण्डु–एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणको सन्दर्भमा देशको हितलाई ध्यानमा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।

चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले छिमेकीहरूको मनमा कुनै किसिमका शंका छ भने त्यसलाई ध्यानमा राखेर उनीहरूको संवेदनशीलतालाई बुझ्नु पर्ने बताएका हुन् ।

उनले बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए ।

बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।

संसारमा दोस्रो शक्तिशाली राष्ट्रका रूपमा उदाएको चीनबाट नेपालले लाभ प्राप्त गर्ने भिजनका साथ अघि बढ्नुपर्ने र चीनसँगको पारवहन, बिजुली निर्यात लगायतका विषयमा पनि थप सहमति र सम्झौता गर्न सके नेपाल लाभान्वित हुने बताए ।

प्रधानमन्त्री ओलीले यसपटक चीनसँग ऋण सम्झौता नगर्ने बताएको पनि उनले उल्लेख गरे । उनले भने ‘उहाँले यसपटकको भ्रमणमा ऋण सम्झौता नगर्ने भन्नेजस्तो कुरा गर्नुभयो, चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुन्छ तर नेपालको हितमा हुने लाभ लिन सकिन्छ ।’