काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तर्क्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरूमा सरकारले गम्भीरतापूर्वक कदमहरू नचालेका कारण हवाइ यातायात सुरक्षित हुन नसकेको बताए ।
उनले भने, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन, तर पनि यो अवधिमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड, ऐन, कानूनहरू पालना भएका छैनन् । कानूनहरूलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरूमा सरकारले गम्भीरतापूर्वक लिन सकेन । भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैं सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै छ । सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन ।’
नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्ग र दलालीहरू मात्र रहेको उनले बताए । उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ तर कम्युनिष्ट पार्टीका नाम राखे पनि तिनीहरू वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्नेबाहेक अरु कोही पनि छैनन् । यही कमिसनको भोकले नेताहरू एकपछि अर्को बिक्री भइरहेको, कमिशनखोरहरूले उनीहरूलाई खरिद गरिरहेका छन् । जसका कारण देशमा विकृति र विसंगति बढ्दै गएको छ ।’
प्रतिक्रिया