काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु शुक्रबार भारतीय राजदूतावासमा आयोजित भोज कार्यक्रममा सहभागी भएनन् ।
भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायत अधिकांश दलका नेताहरु सहभागी भइरहेका बेला एमालेका नेताहरु त्यहाँ देखिएनन् ।
प्रम देउवा र प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने मुस्ताङमा थिए । यसरी एमाले नेताहरु भारतीय दूतावासको कार्यक्रममा नगएर ‘बहिष्कार’ नै गरे ।
एमालेबाट दूतावासको कार्यक्रम बहिष्कार भएपछि पत्रकार ऋषि धमलाले आफ्नो विहानी कार्यक्रम नेपाली बहसमा वरिष्ठ नेता झलनाथ खनालसँग सोधे– तपाईहरु किन भारतीय दूतावासको कार्यक्रममा जानुभएन् ? जवाफमा खनालले एमालेलाई निम्ता नदिइएको खुलासा गरे ।
‘कसैले बोलाएन, त्यस कारणले म गइन । बोलाएको भए के हुन्थ्यो थाहा छैन,’ खनालले भने । एमालेलाई बोलाएको वा नबोलाएको भन्ने आफुलाई जानकारी नभएको खनालले बताए । ‘कसैले सूचना पनि गरेन, त्यसैले गइएन ।’
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग एमालेका तर्फबाट कसैको पनि भेटघाट नभएको बताउँदै खनालले भने, ‘भारत मित्रराष्ट्र भएकोले एमालेले भारतसँग आत्मिय र घनिष्ठ सम्बन्ध राख्न चाहन्छ ।’
साथै नेता खनालले भारतीय विदेशमन्त्री सुश्मा स्वराजले भेटघाटमा निम्तो नगरेकोप्रति आक्रोश पनि व्यक्त गरे । ‘भारतीय अधिकारीहरु के गर्छन्, बडा विचित्र छ ।’
प्रतिक्रिया