सिरियाबारे बाइडेनले भने–मध्यपूर्वको शक्तिसन्तुलन परिवर्तन

सिरियाबारे बाइडेनले भने–मध्यपूर्वको शक्तिसन्तुलन परिवर्तन


काठमाण्डु- विद्रोही समूहले एकपछि अर्को गर्दै शहर कब्जा गर्न थालेपछि सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । उनी परिवारसहित रुस पुगेको विवरणहरू सार्वजनिक भएका छन् । तर, यसको पुष्टि हुन भने बाँकी छ ।

सिरियामा रुस र इरान समर्थित असद नेतृत्वको सरकार ढलेसँगै अमेरिकाले दिने प्रतिक्रियामा पनि धेरैको ध्यान गएको छ । यसबारे अमेरिकाले पनि आफ्नो दृष्टिकोषण सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारे प्रतिक्रिया दिँदै सिरियामा अमेरिकाको दृष्टिकोणले मध्यपूर्वको शक्तिसन्तुलन परिवर्तन भएको उल्लेख गरेका छन् । यसका साथै बाइडेनले सिरियामा अमेरिकी सेनाको उपस्थिति कायम राख्ने संकेत पनि दिएका छन् ।

उनले सिरिया संकटबारे आफ्ना तीन रूपहरू प्रस्तुत गरेका छन् । बाइडेनले सुरुमा साझेदारहरूलाई समर्थन गर्ने विकल्प अघि सारेका छन् । त्यस्तै प्रतिबन्ध र कूटनीतिलाई दोस्रो रूपमा प्रस्तुत गरेका बाइडेनले आवश्यक परे सैन्यबलको प्रयोग गर्न सकिने पनि जनाएका छन् ।

सिरियामा सत्तापरिवर्तनको संक्रमणकालीन समयमा इस्लामिक स्टेट ग्रुप–आईएस (आईएसआईएस) ले फाइदा उठाउन सक्ने भन्दै बाइडेनले आफूहरूले त्यसो हुन नदिने टिप्पणी गरेका छन् । ‘आईएसआईएसले यो शून्य समयलाई आफ्नो क्षमता विस्तार, पुनः संगठित हुने र आफ्नो सुरक्षित आश्रय निर्माणका लागि उपयोग गर्न कोशिस गर्नेछ,’ बाइडेनले भनेका छन्, ‘हामी त्यसो हुन दिने छैनौँ ।’

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सिरियाको पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया दिँदै भनेका थिए, ‘विश्वसनीय राजनीतिक प्रक्रियामा सहभागी हुन अस्वीकार गर्नु तथा रुस इरानको समर्थनमा निर्भर हुँदा सिरियामा असद नेतृत्वको पतन भएको हो ।’