सात दशक पछि पहिलो पटक पत्रकार महासंघको नेतृत्वमा महिला

सात दशक पछि पहिलो पटक पत्रकार महासंघको नेतृत्वमा महिला


काठमाण्डु-नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् । यद्यपि यसको औपचारिक घोषणा आज दिउँसोमात्र हुने छ ।

उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । अध्यक्षमा देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल लगायत निर्वाचित हुने निश्चित छ । कोषाध्यक्षमा रामकृष्ण अधिकारी जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

शर्मा सत्तारुढ एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवार थिइन् भने पराजित भएका विष्ट प्रेस युनियनकै बागी हुन । उनलाई प्रेस सेन्टरसहित ५ संगठनको समर्थन थियो ।

महासंघ हाँक्न लागेकी शर्मा २०७७ सालमा भएको निर्वाचनमा पनि उम्मेदवार थिइन् । त्यतिबेला प्रेस चौतारीबाट एकल प्रतिस्पर्धामा उत्रिएकी उनी विपुल पोखरेलँग पराजित भएकी थिइन् । पराजित भएको करिब साढे ३ वर्षपछि उनले इतिहासमै महासंघको पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।