पत्रकारको न्यूनतम तलब ४० हजार हुनुपर्छ : नेपाल पत्रकार महासंघ

पत्रकारको न्यूनतम तलब ४० हजार हुनुपर्छ : नेपाल पत्रकार महासंघ


काठमाडौं – श्रमजीवी पत्रकारको न्यूनतम तलब दोब्बर गराउन नेपाल पत्रकार महासंघले माग गरेको छ । असार २३ गते बसेको महासंघको श्रमजीवी हित प्रवर्दन समितिको बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य सचिव तथा सुचना विभागका महानिर्देशकलाई पत्रकारको न्यूनतम तलब कम्तिमा ४० हजार रुपैयाँ तोक्न ज्ञापनपत्र बुझाएको हो।

नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले सदस्य सचिव घिमिरेलाई भेटी उक्त पत्र बुझाएको हो ।मागपत्र बुझाउँदै समितिका संयोजक दाहालले उल्लेखित माग तत्काल पूरा नगरिए आगामी साउन महिनादेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिविरुद्ध दबाबमूलक कार्यक्रम संचालन गर्ने बताए ।

महासंघको मागपछि न्यूनतम पारिश्रमिक निर्धारण समितिको २०७५ बैशाख १० मा बसेको बैठकले मिडियामा कार्यरत श्रमजीवी पत्रकार, कामदारकर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न अध्ययन उपसमिति निर्माण गरी काम सुरु गरेको थियो।

सो उपसमितिले मुख्य मागकर्ता अर्थात नेपालका पत्रकारहरुको छाता संगठन महासंघसँग पारिश्रमिक वृद्धि के कति गर्ने भनेर छलफलै नगरेपछि महासंघले यस्तो निर्णय गरेको हो। श्रमजीवी पत्रकारको न्यूनतम तलब अहिले मासिक १९ हजार ५ सय रुपैयाँ छ।