प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सांसदहरूको प्रश्न : जुवातास कसरी बौद्धिक खेल भयो?

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सांसदहरूको प्रश्न : जुवातास कसरी बौद्धिक खेल भयो?


काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको छ । सिँहदरवार स्थित संसदीय सुनुवाई समितिको बैठक कक्षमा चलिरहेको सुनुवाईमा राणाले सांसदहरुको जटिल प्रश्नहरुको सामना गर्नु परेको हो।

नेकपा सांसद शिवकुमार मण्डलले राणाको ‘ब्ल्याकमेलिङ’ को बाटोबाट राणा अदालतमा प्रवेश गरेको आरोप लगाउँदै यस सम्बन्धी प्रश्न सोधे। त्यतिवेलाका प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंह उमेरका विषयमा तपाईँले मुद्दा हालेको र पछि सहमति गरेको भन्ने कुरा आएको छ यसबारे के भन्नुहुन्छ ?’ समितिका सदस्य मण्डलले प्रश्न गरेका थिए ।

यसैगरी, जुवालाई बौद्धिक खेल र स्वयंभू-छाउनीको घरजग्गा सम्बन्धी मुद्दामा पूर्व अधिराजकुमारी प्रेरणालाई जिताइदिएको सम्बन्धमा पनि राणासँग प्रश्न सोधिएको छ। संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले राणामाथि विचौलियालाई प्रश्रय दिएको आरोप लगाउँदै ‘कसरी विचौलिया नियन्त्रण गर्नुहुन्छ?’ भन्ने जिज्ञाशा राखेका छन्।

सुनुवाईको क्रममा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन प्रधानन्यायाधीस राणाले सुरु गरेका छन्। मुद्दाको चापको तुलनामा सर्वाेच्चमा न्यायाधीस संख्या कम भएको बताउँदै न्यायाधीस संख्या थप्नुपर्नेमा राणाले जोड दिएका छन्।

संसदीय सुनुवाई विशेष समितिको आइतबारको बैठकमा राणाले आफ्ना कार्ययोजना पेश गर्दै आन्तरिक तथा बाह्य रुपमा अदालतभित्र हुने भ्रष्टाचार हुनै नदिने र अदालतमा विचौलियाको काम गर्नेलाई खोजीखोजी कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

त्यस्तै उनले अदालतमा कसैले ढिलासुस्ती गरे छानविन गर्न तथा कुनै न्यायाधीश र कर्मचारीले आचारसंहिता पालना गरेनगरेको निरन्तर अनुगमन गर्ने आफ्नो कार्य्दिशा रहेको बताएका छन् । त्यसका लागि अदालतमा सुक्ष्म अनुसन्धानकर्ता परिचालन गर्ने योजना रहेको पनि सुनाए ।

‘न्यायालयभित्र भ्रष्टाचारसम्बन्धी उजुरी परेमा त्यसलाई सम्बोधन गर्ने र उजुरीकर्ताको नाम गोप्य राख्ने व्यवस्था मिलाउँछु । महिला तथा पारिवारिक मुद्दाका लागि छुट्टै अदालतको सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिन्छ’ समितिसमक्ष आफ्नो कार्यदेशबारे व्याख्या गरेका छन् ।

त्यस्तै अर्का सांसद सुमनराज प्याकुरेलले जेपी गुप्ताको मुद्दा उल्ट्याएको,राजेन्द्र श्रेष्ठले विचौलिया आफैंले राखेको तथा जीतेन्द्र देव र ज्ञानेन्द्र कार्कीले समेत उनीमाथि लागेको आरोपहरुको जवाफ माग गरेका थिए । अहिले सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको छ । सांसदहरुले प्रश्न सोध्नेक्रम सकिएपछि राणाले जवाफ दिने छन् ।