प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको अन्तिम सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको अन्तिम सुनुवाइ आज


काठमाडौं – सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि संसदीय सुनुवाइ हुँदैछ । संघीय संसदका कर्मचारीले गत आइतबार संसदीय सुनुवाइ विशेष समितिको बैठक चलिरहेको समयमै अपरान्ह ४ बजेपछि माइक काट्न खोजेपछि संसदीय सुनुवाइ विशेष समितिले मंगलबार बिहान ११ बजेका लागि बैठकलाई निरन्तरमा राखेको थियो।

संसद् सेवाका कर्मचारीले कार्यालय समयबाहेक अतिरिक्त समय काम नगर्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेकाले सुनुवाइ पनि प्रभावित भएको थियो । आइतबारको सुनुवाइमा दश सांसद्हरुले जबरासँग प्रश्न गरेका थिए । आइतबार छलफलमा भाग लिन नाम लेखाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सांसद्ले बोल्ने पालो आएको छैन ।

सांसद्द्वय सुरेन्द्र पाण्डे र निरुदेवी पालले छलफलमा भाग लिन समय पाएका छैनन् । सांसद्हरुको प्रश्नपछि जबरालाई जवाफका लागि समय दिइनेछ । जबराको जवाफ सकिएपछि समितिले आवश्यक ठानेमा थप प्रतिप्रश्नको मौका सांसद्हरुले पाउनेछन् ।

समितिले सुनुवाइपछि जबरालाई प्रस्तावित प्रधानन्यायाधीशमा स्वीकृत वा अस्वीकृतको निर्णय गर्नेछ । समितिको दुई तिहाइ बहुमतले जबरालाई अस्वीकृत गर्न सक्नेछ । दुई तिहाइबाट अस्वीकृत नभएमा भने स्वीकृत भएको मानिने सुनुवाइको कार्यविधि छ ।