प्रधानन्यायाधीश राणाविरूद्ध नौ उजुरी, उजुरीकर्तालाई भोलि बोलाइयो

प्रधानन्यायाधीश राणाविरूद्ध नौ उजुरी, उजुरीकर्तालाई भोलि बोलाइयो


काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्र शमशेर राणाविरूद्ध नाता पर्ने व्यक्तिको नाममा वीरगञ्जको छपकैया पोखरी दर्ता गराएको उजुरीबारे परेको संसदीय सुनुवाई समितिमा छलफल भएको छ।

जबराले नाता पर्ने प्रमोद शाहको नाममा छपकैया पोखरी कायम गरिदिएको उजुरी संसदीय सुनावाइ समितिमा परेको हो । समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा समिति सदस्यहरुबीच जबराविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो। जबराविरुद्ध समितिमा नौवटा उजुरी परेका र

उजुरीकर्ताहरूलाई भोली दिउँसो ३ बजे छलफलका लागि बोलाउने निर्णय बैठकले गरेको समिति सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। प्रधानन्यायाधीशमा सिफारिस जबराबिरुद्ध गएको पुस २ गतेदेखि सार्वजनिक उजुरीका लागि आह्वान गरिएको थियो। संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन्। समितिले उजुरीकर्तासँग छलफलपछि राणालाई सुनुवाइका लागि निम्तो दिनेछ । सुनुवाइबाट अनुमोदन भए राणा प्रधानन्यायाधीश बन्नेछन् ।